‘संसद् सञ्चालन गर्नेबारे प्रतिपक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ’

सरकारले संघीय संसद्, प्रतिनिधिसभा सञ्चालनका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिपक्ष दलसँग आग्रह गरेको छ । लामो समय संसद्मा अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु संसद्मै रोकिएको जनाउँदै वार्ता र संवादमार्फत समाधान खोज्न प्रतिपक्षलाई आग्रह गरिएको हो ।

आज बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “संसद पुनःसञ्चालन हुनु पर्दछ, संसद्लाई प्रभावकारीरूपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको हुनाले संसद् चलाउनेबारे सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ र एमाले जस्तो अनुभवी प्रतिपक्षबाट पनि त्यस्तै किसिमको भूमिकाको अपेक्षा गरेका छौँ ।”

मन्त्री कार्कीले विगतका सरकारले ल्याएका महत्वपूर्ण विधेयक रोक्ने काम भइरहेको र त्यो आफैँमा अनौठो भएको जनाउँदै संसद्लाई पुनःसञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दलको नेतासँग निरन्तर संवाद भइरहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले संसद् पुनःसञ्चालन गर्ने सम्बन्धमा प्रतिपक्षसँग सौर्हादपूर्ण वातावरण बनाएर निरन्तर वार्ता र संवादलाई निरन्तरता दिइरहेको बताए । उनले बजेटलाई लामो समय रोकी राख्दा सबैतिर ठप्प हुने भएकाले आज त्यसलाई संसद्सँगै लैजानुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै सर्वदलीय बैठकमार्फत प्रतिपक्षसँग वार्ता र संवाद गर्दै राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको बताए । सरकारले अघिल्लो सरकारले अघि सारेको कुनै पनि योजना नरोकेको स्पष्ट पार्दै राजस्व बढाउने लक्ष्य राखेर तीन प्रतिशत बजेट मात्रै घटाएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको पछिल्लो पटक ४४ लाख खोप नेपाल आइसकेको जानकारी दिँदै अहिलेसम्म एक करोड ७७ लाख खोप आएको बताए । राज्यमन्त्री श्रेष्ठले अबको १० दिनभित्रमा छुटेका १८ वर्षभन्दा माथिका व्यावसायिक क्षेत्रका व्यक्तिलाई खोप वितरण गर्ने योजना सुनाए । नेपालको उत्तरी भेगका करिब १० देखि १३ वटा जिल्लामा पूर्णरूपमा खोप लगाउने सरकारको योजना रहेको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै सरकारले पूर्णता पाउने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा प्रस्तुत भएका एजेण्डाभन्दा पनि सभामुखको कार्यशैलीप्रति विरोध जनाउँदै संसद् अवरुद्ध गरिएको प्रष्ट पारे ।

उनले भने, “सभामुखले नेकपा एमालेप्रति गरेको विभेदका कारण हामी अहिले संसद्मा आन्दोलनमा छौँ, त्यसैले उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म संसद् चल्दैन कि त सभामुख आत्मालोचित हुनुपर्छ, कित मार्ग प्रशस्त गर्नुपर्छ ।” उनले प्रतिपक्ष दलसँग कुनै छलफल नै नगरी सरकारले जबरजस्ती बजेट पारित गरेको भन्दै गुनासो गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार