कांग्रेसले टुंग्यायो धनुषा र कैलालीको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । विवाद समाधान समितिले यसका लागि ९ बुँदे निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पनि बाँडफाँट भएको छ ।

नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको समितिले असोज ३ मा दुई जिल्लाको विवादमा निर्णय गरेको हो । निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका वडा नम्बर ५ र क्षिरेश्वर नगरपालिका वडा नम्बर १० मा नयाँ क्रियाशील सदस्यहरुले १४ औं महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडाहरुमा पुराने क्रियाशील सदस्यहरुबाट महाधिवेशन हुनेछ ।

यस्तै मिथिला बिहारी नगरपालिका वडा नम्बर ६, १०, लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ र २ मा वडा सभापतिहरुले सिफारीस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ । क्षेत्र र जिल्ला तहबाट थपिएका नामहरु भने १४ औं महाधिवेशन सकिएपछि प्रकृयामा जाने छ ।

क्षिरेश्वर नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३,४,५,६ मिथिला बिहारी नगरपालिका २ का साथै जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरुले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरुले सिफारीस गरेको क्रियाशील सदस्यले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउनेछन् । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद रहेको थियो । डा. चन्द्रमोहन यादव सहितका नेताहरु विवादका कारण केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए । १३ औं महाधिवेशनमा यो क्षेत्रलाइ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको थियो ।

समितिले कैलाली जिल्लाको विवादका सम्बन्धमा पनि निर्णय भएको छ । कैलाली जिल्ला क्षेत्र नम्बर १ को टिकारपूर नगरपालिका वडा नम्बर १ मा भने १३ औं महाधिवेशनमा सहभागि भएका क्रियाशील सदस्यहरुले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।

समितिले गरेको निर्णय अनुसार धनुषा जिल्लाका लागि भएको निर्णय कार्यान्वयन गर्न केन्द्रीय सदस्यद्वय आन्नद ढुंगाना र जीवन परियारलाई जिम्मा दिइएको छ । यस्तै परियार र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कैलाली जिल्लाको विवाद समाधान गर्ने जिम्मेवारी पनि पाएका छन् । यी नेताहरुले २ जिल्लाका विषयमा कार्यतालिका प्रभावित नहुँने गरि चाँडो कार्यन्वयन गराउनुपर्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार