नेतृत्व हस्तान्तरणमा विश्वप्रकाशको सूत्र: राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक मात्र

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार गृहजिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तनस शीर्षकको २४ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै शर्माले राष्ट्रपति पदमा दोहोर्‍याएर र प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी शपथ लिन नपाइने व्यवस्थाका लागि प्रस्ताव गरेका हुन् ।

बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले आज झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताए ।

उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने व्यवस्था हुनुपर्ने भन्दै भने, ‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धतितर्फ मोडौं । एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको शपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौं ।’

यतिमात्र गर्ने हो भने राजनीतिमा उमेर हद तोक्नै नपर्ने भन्दै यसले नै शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली बस्ने निचोड शर्माको थियो ।

शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ उनले भनेका छन् ।

तीन दिन पार्टी र चार दिन रोटीका लागि काम गरे मात्र हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर र प्रेरणादायी बन्नसक्ने उनको व्याख्या छ । संविधान बनाउनेले संविधानप्रति इमान र विमति राख्नेले संविधानसभाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार