ओली नेतृत्वको सरकारले एमसीसीको सम्झौता बिगार्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विवादित बन्दै गएको एमसीसीको विषयमा केपी ओलीको पालामा एमसीसीको सम्झौतामा गडबडी गरेको बताए । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले ओली नेतृत्वको सरकारले एमसीसीको सम्झौता बिगारेको बताएका हुन् ।

पहिले एमसीसी सम्झौता गर्दा संसदबाट पास गर्नुपर्ने प्रावधान नरहेको तर ओलीले नेतृत्वको सरकारले एमसीसी संसदबाट पास गर्नुपर्छ भने अघि बढाएको उनले बताएका छन् । विकासको लागि पैसा चाहिएको हो तर त्यसको लागि सम्पूर्ण दलहरूसँग छलफल गरेर यसलाई कार्यान्वयन तर्फ लग्नुपर्ने र संशोधन गरेर नेपालमा लागु गराउनुपर्ने आफ्नो धारणा उल्लेख गरे ।

यस्तै असोज ४ गते पछि सरकार विस्तार हुने बताएका छन् । शनिबार जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले हाल प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको बताए । अध्यक्ष प्रचण्डले असोज ४ गते पछि सरकार विस्तार हुनेमा कुनै शङ्का नभएको ठोकुवा समेत गरे ।

त्यस्तै उनले गणतन्त्र, सङ्घीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी गरेका छन् । गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएता पनि अब कुनै हालतमा गठबन्धन नटुट्ने र अगामी चुनावसँग गठबन्धन रहिरहने बताए ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार