निर्वाचनपछि गठबन्धन बिलाएर जाने ओलीको भनाई

सरकारले सेटिङमा अरबौंको भ्रष्टाचारको खेल सुरु गरेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरू बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने बताएका हुन् ।

ओलीले मुलुकमा निर्वाचन हुन नदिन केही दलहरूले अलोकतान्त्रिक तवरले अनेक प्रपच्न रचेको आरोप पनि लगाए । गठबन्धनमा रहेका दलहरूले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमासा देखाएको टिप्पणी गरेका छन् ।

ओलीले अदालतको आदेशबाट अस्वाभाविक ढङ्गले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गरे । आफूले भ्रष्टाचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले सेटिङमा अरबौंको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको अध्यक्ष ओलीले बताए । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरू यत्रो ठुलो ढङ्गले देशलाई करोडौँको, अर्बौँको मात्र होइन खर्बौँको तलमाथि पर्ने गरी कसरी हेरफेर गरियो रु सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरू खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईँहरूलाई भन्न चाहन्छु खास गरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’

त्यस्तै अध्यक्ष ओलीले कर्मचारीलाई पनि सरकारले दुख दिन सुरु गरेको तर्क गरेका छन् । ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरू निजामती कर्मचारी सङ्गठनमा समाहित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार