दुई महिनाभित्रै सञ्चालन गर्ने भनेर भित्रिएको एक वर्षसम्म पार्किङमै थन्कियो रेल

ओढाएका त्रिपाल च्यातिए, पाटपुर्जा खिया लागे, तर चलेन रेल

दुई महिनाभित्रै सञ्चालन गर्ने भनेर नेपालमा रेल भित्र्याएको शनिबार एक वर्ष पूरा भएको छ । गत असोज २ गते भारतबाट तामझामसहित नेपाली भण्डा फहराउँदै ल्याइएका दुई सेट रेल अलपत्र परेका छन् । ती रेलहरु अहिले धनुषाको इनर्वामा खुला आकाशमुनि पार्किङमा अलपत्र छन् । रेललाई सुरक्षित गर्न लगाइएको त्रिपाल फाटेर धुजा-धुजा भइसक्दा पनि रेलले सेवा दिन थालेको छैन ।

भारतीय कांकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा किनिएको रेलका पाटपुर्जामा खिया लाग्न थालेका छन् । सशस्त्र प्रहरीको निगरानीमा राखिएको रेलको रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्दै आएका छन् ।

भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो । सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो । जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ ।

कुर्थादेखि भंगहासम्मको लिक लगभग तयारी अवस्थामा रहेको पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागले जनाएको छ । जनकपुर आएकै दिन नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्रै कानुनी प्रकृया पूरा गरी जनशक्ति राखेर रेल चलाउने आश्वासन दिएका थिए । तर, कानुनी जटिलताले एक वर्ष बित्दा अझै रेल चल्न सकेको छैन ।

अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ । स्पिड टेस्ट सकिएकाले अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्ने हो । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार