आलोचना कम गर्न सरकारले सार्वजनिक गर्‍यो दुई महिने उपलब्धिका १५ काम

सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएको दुई महिना पुग्दा मन्त्रिपरिषदलाई पूर्णता दिनसमेत नसकेको आरोप लागिरहेका बेला आलोचनालाई मत्थर पार्न प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको छ ।

पछिल्लो समय मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको, एमसीसी पास गर्न पहल गरेको र पार्टीको महाधिवेशनका सन्दर्भमा देखिएका विवादले प्रधानमन्त्री शेरबहादुर देउवा निकै आलोचित भएका छन् ।

सोही विवादलाई कम गर्न भन्दै सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ कामको सूची सार्वजनिक गरेको हो । महत्वपूर्ण उपलब्धिमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई मानिएको छ ।

यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनस्थापनाको कामलाई पनि सरकारले उपलब्धिको सूचीमा समावेश गरेको छ ।

यस्तै, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाँका दरले राहत दिनु पनि सरकारको उपलब्धिको रुपमा राखएिको छ ।

राजधानीका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको सरकारले बताएको छ । तर कुन कुन ठाउँमा हो भन्ने जानकारी भने दिइएको छैन । यस्तै विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र ‘महिला लक्षित महिला पहिला कार्यक्रम’, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवा सरकारले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार