इन्द्रध्वजा ठड्याएसँगै सुरु भयाे इन्द्रजात्रा, आइतबार राष्ट्रपति भण्डारी वसन्तपुर दरबार क्षेत्र जाने

काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो ।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ ।

कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन) ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ । आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ ।

भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइने भएको छ । अभियन्ता गणपतिलाल श्रेष्ठले गुठी संस्थाबाट आउने व्यक्तिले मात्रै रथ तान्ने जानकारी दिए ।

संस्थाले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई मात्रै खटाउनेछ । १८ वर्षमुनिका बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धा, खोप नलगाएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिलाई जात्रामा छुट्टै राखिनेछ ।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय गरिएको जनाइएको छ ।

भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो ।

इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्वदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित अर्यालले बताए ।

अर्को किम्वदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ । प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।

मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ । नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार