राष्ट्रिय जनगणनामा सुडी समुदायको जातीय र भाषिक अभिलेखन

सुडी समाज काठमाडौँले राष्ट्रिय जनगणना–२०७८ लाई सफल बनाउन सबैमा आग्रह गरेको छ ।

समाजद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जनगणना–२०७८ र सुडी समुदाय’ विषयक छलफलमा समाजले सो आग्रह गरेको हो । आफ्नो जातीय र भाषिक पहिचानका लागि राष्ट्रिय जनगणनाको जातीय महलमा सुडी र भाषिक महलमा आफ्नो मातृ भाषा लेखाउन आग्रह गरिएको समाजले जनाएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यस वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मेरो सहभागिताः राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ हुन गइरहेको छ । देशमा बसोबास गर्ने विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरुको सामाजिक, आर्थिक तथा लैङ्गिक अवस्था कस्तो छ भन्ने बुझ्नका लागि पनि जनगणना गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।

जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा राज्यले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्नेदेखि बनेका कार्यक्रमको अनुगमन÷मूल्याङ्कन हुने गर्दछ । जनगणनाको तथ्याङ्ककै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने, प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्य सङ्ख्या यकिन हुने, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीय तहसम्म स्रोत परिचालन गर्न, राज्यका विभिन्न तहमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग तथा लिङ्गका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

सो अवसरमा समाजका महासचिव शीतलप्रसाद महतोले विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरुको सामाजिक, आर्थिक तथा लैङ्गिक अवस्थाबारेमा जानकारी गराउनका लागि जनगणना महत्वपूर्ण माध्यम भएकाले सुडी समुदायले पनि आफ्नो जातीय पहिचान, सम्मान, अस्तित्वको संरक्षणका लागि जनगणनाको जातीय महल अगाडि सुडी र भाषा महल अगाडि आफ्नो मातृभाषा लेखाउन आग्रह गरे ।

समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पिछडा वर्ग महासङ्घका वीरबहादुर महतो, समाजका उपाध्यक्ष इञ्जिनीयर उमाशङ्कर साह र कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताले जातीय र भाषिक पहिचान, सशक्तीकरण र आफ्नो जातिको यथार्थ तथ्याङ्क सङ्कलनका लागि आफ्नो जाति र मातृ भाषा लेखाउन सुडी समुदायका हरेक व्यक्तिलाई आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार