सङ्खुवासभा हत्या सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुखसहित पाँच जना पुरस्कृत

संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने प्रदेश १ का प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ ।

उक्त घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा प्रशंसनीय कार्य गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अरूणकुमार विसीसहित ५ जना प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा विसीसहित नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।

उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जानिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार