थारु संस्कृतिको एक जीवन्त सङ्ग्रहालय ‘अमलटारी सामूदायिक होमस्टे’

Sunrise Bank Middle Size

गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूल मालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरुङ्ग हुने गर्दछ ।

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । सीमान्तकृत समुदायमा पर्ने थारुसहित बोटे, मुसहरलगायतका जातजातिको वासोवास रहेको यस ठाउँमा सञ्चालनमा आएको अमलटारी सामूदायिक होमस्टेसँगै यो गाउँ यतिखेर गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

कोरोना कहरले लामो समय प्रभावित पर्यटनले विस्तारै गति लिएसँगै देशका विभिन्न स्थानबाट थारु संस्कार र संस्कृतिको अवलोकनका लागि आउने पर्यटकलाई स्वागत गर्न यतिखेर अमलटारीवासीलाई भ्याइनभ्याइ भएको स्थानीयवासी धनीराम महतोले बताए ।

विसं २०७० जेठ ५ गतेबाट यहाँका १८ वटा घरबाट शुरु गरिएको घरबास अहिले ३१ वटा घरमा रहेको उनले जानकारी दिए । अमलटारी आउने पर्यटकले थारु जातिका विभिन्न संस्कार, संस्कृति एवं रहनसहनका साथै थारू एवं बोटे जातिका संस्कृतिमा आधारित नृत्यहरू प्रत्यक्ष अवलोकन गर्न पाउने उनले बताए ।

अमलटारी आउने पर्यटकका लागि स्थानीयवासीले बेलुका खाना खाएपछि थारु संस्कृतिमा आधारित लाठी, झुमरा र जोगेडा नाचका साथै बोटे संस्कृतिमा आधारित गोलेनी नाच देखाउँछन् । थारु र बोटे समूदायका परम्परागत पोशाकमा सजिएका युवायुवतीका प्रस्तुती रहेका नृत्यहरू यहाँ आउने जो कोहीले अनौठो र रमाइलो मान्ने गर्दछन् । समुदायमा लोप हुँदै गएका लाठी नाच आदिको संरक्षणका साथै त्यसले पर्यटकलाई पनि आकर्षित गर्ने अवस्थालाई दृष्टिगत गरी झण्डै १५–२० जनाको टोलीले प्रत्येक दिन लाठी नाच जस्ता संस्कृति देखाउने गरेको छ । योसँगै परम्परागत कला संस्कृतिको जगेर्नामा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । थारु तथा बोटे समूदायमा झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा आदि परम्परागत नृत्य रहेका छन् ।

होमस्टेका आगन्तुक पाहुनालाई उनीहरूको रोजाइअनुसारका खाना खुवाउने गरिएको अमलटारी मध्यवर्ती सामूदायिक होमस्टे– ४ का सञ्चालिका सूर्यकुमारी महतोले जानकारी दिए ।

“होमस्टेमा आउने पर्यटकका लागि थारु जातिका मौलिक खाना चिचर, हाँस, लोकल कुखुरा, घुँगी आदिको स्वाद लिने व्यवस्था मिलाउने गरेका छौं”, उनले भने, “होमस्टे समितिले व्यवस्था गरेको प्याकेजअनुसारको खाना तथा खाजाका साथै पर्यटकको इच्छा तथा मागअनुसार अन्य विभिन्न परिकार पनि बनाउने गरिएको छ ।”

यहाँको नियमअनुसार आगन्तुक पर्यटकलाई सामुहिक रुपमा स्वागत गरिसकेपछि तोकिएका होमस्टेमा बस्ने व्यवस्था मिलाइन्छ । पर्यटकहरूले आफू बसेकै घरमा साँझको खाना खान्छन् । समितिले होमस्टेमा बस्ने पर्यटकका लागि निश्चित प्याकेजको व्यवस्था गरेको समितिका व्यवस्थापक धनीराम गुरौले जानकारी दिए ।

उनका अनुसार होमस्टेमा बस्ने पर्यटकमध्ये सादा खाना खानेले अनुसार रु ८६० तिर्नुपर्छ भने माछामासु खानेले ९८० रुपैयाँ तिर्नुपर्छ । माछा मासु खानेका लागि खानामा लोकल कुखुरा, हाँस वा माछासहितको परिकारको व्यवस्था छ । त्यस्तै प्याकेजअन्तर्गत नै भोलिपल्ट बिहान ब्रेकफास्टमा स्थानीय चिचर (भिजाएको अनदीको चामललाई बाफमा पकाइएको परिकार), अचार तथा तरकारी सेवा उपलब्ध छ ।

मध्यवर्ती वन क्षेत्रको संरक्षणमासमेत जोड दिँदै आएको समितिले पर्यटकलाई जङ्गल सफारीको व्यवस्थासमेत मिलाएको व्यवस्थापक गुरौले जानकारी दिए । जङ्गल सफारीमा जाने पर्यटकललाई यहाँ पाइने गैँडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले लोभ्याउने गरेको छ ।

नेपाल सरकारबाट उत्कृष्ट घोषित यस होमस्टेमा पछिल्ला समयमा विभिन्न तालीम, गोष्ठी तथा सेमिनार हुने गरेका छन् । होमस्टे व्यवस्थापन समितिका व्यवस्थापक गुरौका अनुसार विभिन्न सङ्घसंस्थाबाट कार्यक्रमका लागि अग्रिम बुकिङ हुने गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघिल्लो वर्ष घोषणा गरेको बन्दाबन्दीलाई यहाँका स्थानीयवासीले होमस्टेको कोठा व्यवस्थापनमा उपयोग गरेको जानकारी दिँदै उहाँले प्रत्येक घरका होमस्टेका कोठाका भित्तामा कलात्मक तवजरबाट निगाला ठोकेर आकर्षक बनाएको बताए । लहरै निगालाले छापिएका भित्ताका कारण जाडोमा न्यानो हुने तथा गर्मीमा शीतल हुने भएको स्थानीयवासीको तर्क छ ।

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासीको डण्डाबाट करीब सात किलोमिटर दुरीमा रहेको यस होमस्टेमा उक्त स्थानबाट सार्वजनिक सवारीसाधनको प्रयोगका साथै निजी सवारी साधनबाट पनि पर्यटक आउने गरेका छन् ।

जङ्गल किनाराको बस्तीका कारण पिछडिएको यस स्थानका सर्वसाधारण विगतमा विभिन्न सेवा, पेशा र व्यवसायका लागि अन्यत्र काममा जाने गरेको स्थानीय धनीराम महतोले बताए । होमस्टे सञ्चालनसँगै यहाँका स्थानीयवासी आफ्नै घरघरमा तरकारी एवं खाद्यवस्तु उत्पादन गरी त्यसैबाट आयआर्जन गर्नसक्ने भएको उनको भनाइ छ ।

“विगतका वर्षमा कमाउनका लागि विदेश जानेहरू पनि अहिले यहीँ होमस्टे चलाउने वा होमस्टेका लागि चाहिने कृषिजन्य उत्पादन बढाउन थालेका छन्”, उनले भने, “होमस्टेले यहाँका सर्वसाधारणको जीवनस्तर अघि बढेको छ नै प्रत्येकलाई केही गर्नुपर्छ भन्ने भावना पनि जगाएको छ ।”

विगतमा नौलो मानिससँग बोल्न लजाउने यहाँका अधिकांश महिलाहरू अहिले भने राम्रोसँग बोल्न सक्ने र तर्क गर्न सक्ने भएका छन् । हरियो बन र डब्लुडब्लुएफको सहयोगमा अमलटारीले समृद्धि र विकासमा फड्को मार्दै आएको कावासोती नगरपालिकाका उपप्रमुख एवं अमलटारी मध्यवर्ती सामूदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमशंकर मर्दनियाले बताए । होमस्टेमा आउने जो कोहीले थारु संस्कृतिका विविधताको अवलोकनका साथै यहाँबाट गरिने एकपटकको जङ्गल सफरीमा विभिन्न वन्यजन्तुका साथै १० देखि १५ वटासम्म गैँडा अवलोकन गर्न पाइने उनले बताए ।

समितिले पछिल्ला वर्षमा स्थानीयलाई विभिन्न सीपमूलक तालीम पनि दिँदै आएको छ । यहाँका युवा हस्तकलाका सामान तयार गर्ने, गैँडा हात्तीको मूर्ति कुँद्ने आदि पनि क्रियाशील छन् । यहाँ उत्पादित समान किनेर पर्यटकले कोशेलीका रुपमा लैजाने गरेका छन् । होमस्टे समितिसँगै स्थानीय जागरुकतामा गाउँमा हमार दीगो पर्यटन सहकारी संस्था पनि स्थापना गरिएको छ । सहकारी र होमस्टेको सहकार्यमा यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै गएको स्थानीयको तर्क छ ।

थारु संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको अमलटारीको प्रवद्र्धन र विकासलाई पछिल्लो समयमा प्रदेश सरकार, स्थानीय तह एवं विभिन्न सङ्घसंस्थाले पनि प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० गण्डकी प्रदेशले हालै उक्त क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमवी आस्थाले जानकारी दिए ।

अमलटारीको प्रवद्र्धनलाई लक्षित गरी हामीले प्रदेशका राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा क्रियाशील पत्रकारको सहभागितामा नवलपुरको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषय अन्तक्र्रियालगायतका कार्यक्रम सम्पन्न गरेका छौँ”, उनले भने, “प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको अमलटारीका हरेक सम्भावनालाई उजागर गर्न फोनिज गण्डकी प्रदेशको सधैँ साथ र सहयोग रहने छ ।”

अमलटारीसहित समग्र नवलपुरमा धेरै पर्यटकीय सम्भावना भएर पनि त्यसको अपेक्षित उजागर गर्न नसकिएको पर्यटनविज्ञ डिबी चौधरीले बताए । यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि सङ्घ, प्रदेश एवं स्थानीय तहका साथै पर्यटनसम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...