अछाम पुगेर भीम रावलले भने : सुदूरपश्चिमको इञ्चार्ज टुंगिएको छैन

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज को हुने भन्ने बारे निर्णय नभएको बताएका छन् ।

पार्टी विभाजनपछि बिहीबार अछाम पुगेका रावलले एमाले जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश इन्चार्जका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफल भएको तर निर्णय भइनसकेको बताए ।

‘त्यो छलफलमा पार्टी अध्यक्षले के भन्नुभयो भने’ उनले बालकोटमा भएको छलफललाई केन्द्रीत गर्दै भने, ‘तपाईको त्यहाँ समस्या भएको भए तपाईले पार्टी उपाध्यक्षको हैसियतले संयोजन गर्नुहोस् । उहाँहरु (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्नुहोस् । पालिकाबाट समस्या समाधान गर्दे आउनुहोस् । जहाँ विवाद रहन्छ हामी कुरा गरौँला ।’

उपाध्यक्ष रावलले १० बुँदे सहमती कार्यान्वयन गर्न आफ्नो संयोजकत्वमा थापा र भट्ट रहनेगरि समिति गठन गरेको भएपनि इञ्चार्जको विषयमा भने ठोस कुरा नभएको दाबी गरेका हुन् ।

‘सुदूरपश्चिमको हकमा स्थायी कमिटि सदस्य लेखराज भट्ट र पोलिट ब्यूरो सदस्य कर्ण थापालाई पनि सहभागि गरौँ । हामी त्यहाँ सहमति गरेर अघि बढौँ भन्ने मेरै प्रस्तावमा बालकोटका छलफल भएको थियो’ उनले भने, ‘को इञ्चार्ज भयो को भएन भन्ने कुरा त त्यहाँ त्यस्तो भएको होइन । त्यो एक जना व्यक्तिले निर्णय गर्ने कुरा होइन । पार्टी कमिटिले गर्ने हो । त्यो प्रस्ताव अध्यक्ष र महासचिवले लैजान सक्नुहुन्छ ।’

१० बुँदे अनुसार आफूनै इञ्चार्ज हुनुपर्ने रावलको दाबी छ । यता माओवादीबाट एकता प्रकृयामै आएको हुँदा भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले बुधबार कञ्चनपुर पुगेर अध्यक्ष ओलीले भीम रावललाई संयोजन गर्न र आफूलाई इञ्चार्जको रुपमा काम गर्न निर्देशन दिएको बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार