इन्टरनेटको मूल्य अब ३ सयले बढाउने तयारीमा सेवा प्रदायक

पोल भाडा विवादको टुंगो नलागेपछि इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको शुल्क बढाउने तयारी गरेका छन् ।

असोज १६ गतेसम्म सम्पूर्ण पोल भाडा नबुझाए इन्टरनेटको तार काटिदिने चेतावनी दिएपछि सेवाग्राहीबाट उठाउने शुल्क बढाउन बाध्य भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

आइस्पानले इन्टरनेटको हालकै मूल्यमा सहरी क्षेत्रमा प्रतिकनेक्सन १५० र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँले भाडा बढाउने तयारी गरेको हो । यसका लागि संघले नयाँ शूल्क प्रस्ताव आज स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।

पोल भाडा नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरणले चितवनका आधा जसो भागमा इन्टरनेटको तार काटेर १५ दिनदेखि सेवा अवरुद्ध भइरहेको पराजुलीले बताए । प्राधिकरणले चितवनमा ५० ओटा जति सेवाप्रदायकहरुको मर्मत मसिन पनि जफत गरेको उनले जानकारी गराए ।

अनलाइनबाट अध्ययन अध्यापन तथा सबै खालको काम भइरहेको अवस्थामा इन्टरनेटको अवरुद्धको स्थिति बन्न नदिन शुल्क बढाउन बाहेक अन्य विकल्प नभएको उनले बताए ।

दूरसञ्चार प्राधिकरणले बारम्बार पोलभाडा विवाद सम्बन्धि वार्तामा बोलाउँदा पनि विद्युत प्राधिकरणले अटेर गरेर बसिरहे पछि विवाद समाधान हुने बाटो नदेखिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार