रामेछापमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठका अनुसार जीप सडकबाट ७ सय मिटर तल खसेको छ ।

घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय जीप चालक लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक पुरुषको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार