दैलेखका शिक्षकको हत्या आरोपमा २५ वर्षीया महिला पक्राउ

दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

दैलेखको गुराँस गाउँपालिका(८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने सोही ठाउँका शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको दैलेख प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए ।

‘मुनाले नै शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने । मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको उनले बताए ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बिसीको शव फेला परेको थियो । विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको हत्यामा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने डम्मर खड्काकी श्रीमती २५ वर्षीया रानाको संलग्नता रहेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानाले व्यक्तिगत रिसिइबीका कारण २८ गते राति साढे १ बजेतिर धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या गरेको स्वीकार गरेकी छन् । पक्राउ परेकी रानालाई कर्तव्य ज्यानको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

Loading...