कम्युनिष्ट पार्टीले मात्रै देश जोगाउन सक्ने केपी ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीले मात्रै मुलुक जोगाउने दाबी गरेका छन् । बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका हुन् ।

ुहामीले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिष्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ,ु ओलीले भने ।

सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ । उनले देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा कम्युनिष्ट पार्टिले मात्रै गर्न सक्ने दाबी गरे ।

‘कम्युनिष्ट पार्टीले मात्रै देशको विकास र सुशासन कायम गर्न सक्छ । यस देशको गरिबी, पछौटेपन हटाउन र पूर्वाधारहरुको विकास गर्दै आधुनिक नेपाल निर्माण कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ’ नेता ओलीले भनेका छन् ।

यस्तै आफ्नो पार्टी नेकपा एमाले अब परोपकारी संस्थाका रुपमा विकास हुने बताएका छन् । उनले भने, ‘यो पार्टी अब परोपकारी संस्थाका रुपमा विकास हुन्छ । परेको बेला पार्टी हाजीर हुन्छ ।’ यस्तै आगामी निर्वाचनपछि नेकपा एमाले नै पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने उनको ठोकुवा थियो ।

यसअघि उपमहासचिव विष्णु पौडेलले पनि आगामी चुनावपछि नेकपा एमाले पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दाबी गरेका थिए । उनले रुपन्देहीमा रहेका प्रतिनिधिसभाका ५ र १० वटा प्रदेशमा एमालेले जित्ने गरी तयारी गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार