खानेतेलमा मूल्यवृद्धि स्वाभाविक भएको उद्योगीको भनाई

उत्पादकहरूले खानेतेलको मूल्यमा भएको वृद्धि स्वाभाविक भएको प्रष्ट पारेका छन् । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आज एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि स्वाभाविक भएको बताएको हो ।

विभिन्न समाचार माध्यममा आएका समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संघले खानेतेलको मूल्य बढेको/नबढेको सम्बन्धी पटक–पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी दिएको बताएको छ । हाल नेपालमा सञ्चालनमा रहेका २० वटा खानेतेल उत्पादक कम्पनीहरूले उल्लेख्य नाफा नखाई बजारमा तेल पठाएको उनीहरूको भनाई छ ।

उद्योगीले भनेका छन्, ‘खानेतेलको कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशबाट आउँछ ।’ यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको मूल्य निर्धारण हुने संघको दाबी छ ।

विगत करिब २० महिना देखी विश्वमा फैलिएको कोरोना महामारी फैलिरहँदा कच्चा तेल उत्पादक देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य कारणले कच्चा पदार्थको मूल्य बढेको छ । जसले नेपालको बजारमा पनि यसको मूल्यवृद्धिको प्रभाव परेको संघले बताएको छ ।

संघले २०२० को अप्रिल महिनामा अर्जेन्टिनामा प्रति मेट्रिक टन ५८९ अमेरिकी डलर रहेको सोयाबिनको कच्चा तेलको मूल्य बढेर अहिले १३९५ डलर पुगेको बताएको छ । यस्तै, सोही अवधिमा युक्रेनमा प्रति मेट्रिक टन ७०४ अमेरिकी डलर रहेको सोयाबिनको कच्चा तेलको मूल्य अहिले १४९५ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।

त्यसपछि पनि भटमास र सूर्यमुखीको तेलको मूल्य केही समय घटे पनि फेरी उकालो लागेकाले नेपाली बजारमा खानेतेलको मूल्यवृद्धि स्वाभाविक भएको बताएका छन् । यस्तै, संघमा आबद्ध उद्योगी÷व्यवसायीले बजारमा खानेतेको कृत्रिम अभाव नगराएको समेत संघले दाबी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार