एमाले नेता रायमाझी भन्छन्- महागठबन्धनलाई चुनावबाटै परास्त गछौंँ

नेकपा एमाले नेता टोपबहादुर रायमाझीले पाँच दलको गठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताएका छन् । बुधबार बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई परास्त गर्ने बताएका हुन् ।

उनले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू केपी ओलीको पक्षमा लागेको बताए । ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यक रूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो’ उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौँ । तर, उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी नेता रायमाझीले केपी ओलीले समृद्ध नेपालको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको बताए । उनले भने, ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’

नेता रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार