एप्पलले सार्वजनिक गर्यो आइफोन १३ सिरिजका ४ आइफोन

एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्निया स्ट्रिमिङ नामक अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।

आइफोन १३ को डिस्प्ले ६.१ इन्चको रहेको छ भने मिनी आइफोनको ५.४ इन्चको रहेको छ । आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन । फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ ।

आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेको कम्पन्नीले दाबी गरेको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए१५ बायोनिक चिप रहेको छ । आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ ।

त्यस्तै, आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने भएको छ । कम्पन्नीका अनुसार न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ । आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ ।

आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार