विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी

लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन स्याङजा प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो ।

पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार हुन थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिए ।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’ गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो । २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार