भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, सतर्कता अपनाउन विज्ञको सुझाव

भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए । यसका लक्षणहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर लाग्ने, मांशापेशी दुख्ने, स्वासप्रस्वासमा कठिनाइ हुने र टन्सिलाइटिस् हुने रहेको छ ।

डा. पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौँको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए । यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने भएकाले नेपालमा यसको जोखिम रहेको अधिकारीको भनाइ छ ।

कति संक्रामक छ निपाह ?
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार निपाह भाइरस ज्यादै संक्रामक छ । उनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ । यो भाइरसले आक्रमण गरेमध्येका ७५ प्रतिशत मानिसको मृत्यु हुनसक्ने उनको दाबी छ । १० जना व्यक्तिमा यो भाइरसको संक्रमण भयो भने ७ जनाको मृत्यु हुनसक्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार