वैकल्पिक तयारी नभएसम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

समर्थन फिर्ता गर्नुअघि अविश्वासको प्रस्तावबारे दलहरुबीचको छलफल तीव्र

नेकपा माओवादी केन्द्रले बैकल्पिक तयारी गरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

समर्थन फिर्ता लिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको तयारीमा रहेको भन्दै माओवादीले वैकल्पिक तयारी गरेर मात्र समर्थन फिर्ता वा अविश्वासको प्रस्ताव पेश गर्ने बताएको हो ।

एमाले र माओवादी अलगअलग पार्टी भएपछि भोलिदेखि गठबन्धनको सरकार भएको एक महिना पुग्ने भएकाले प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने माओवादीको तर्क छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएको भोलि ३० दिन हुन्छ । त्यसअघि माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल गरेर वैकल्पिक तयारी गर्ने बताएको छ ।

कांग्रेसले नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र जसपा नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन ।
प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोनमा संवाद गरेका थिए । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि प्रचण्डले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको बुझिएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीले आज जनता समाजवादी पार्टीसँग पनि छलफल गर्दैछ । कांग्रेसको निर्णय सकारात्मक भन्दै उहाँले अब जसपासँग पनि छिटो त्यस प्रकारकै निर्णय लिन अनुरोध गर्ने र त्यसपछि सम्बन्धित सबै पार्टी बसेर फाइनल प्रक्रिया अगाडि बढाउँने बताए।

माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङको भनाई छ । माओवादी केन्द्रले राजनीतिक रुपमा सरकारलाई समर्थन नरहेको बताइसकेको छ ।

एमालेमा गएका नेतालाई कारबाही गर्ने विषयमा परामर्श कम भएको भन्दै आजको बैठक स्थगित

एमालेमा गएका नेताहरुमाथी कारबाही गर्ने विषयमा पनि माओवादी केन्द्रमा छलफल तीब्र रुपमा अघि बढेको छ । यहि विषयमा निष्कर्षमा पुग्ने अनुमान गरिएको आईबार बस्ने स्थायी कमिटिको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।
माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक बोलाएको थियो ।

बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

आजको बैठकका लागि सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार