फोर्ड मोटर कम्पनीले भारतमा कार उत्पादन बन्द गर्ने

अमेरिकी कम्पनी फोर्ड मोटर्सले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने जानकारी गराएको हो ।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीको भनाइ छ ।

केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि परेको छ । सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो ।

गत वर्ष विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजारमा हार्ली डेभिडसनले उत्पादन र बिक्रीमा व्यापक कटौती गरेको थियो । विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको छ ।

कम्पनीका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर २ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ ।

पुराना ग्राहकलाई सेवा जारी
भारतमा कारका पाँचवटा मोडल उत्पादन गर्दै आएको उक्त कम्पनीले आफ्ना ग्राहकका लागि गाडीको मर्मत सेवा, पार्टपुर्जा र वारेन्टीसम्बन्धी सहायता भने जारी नै राख्ने जनाएको छ ।

विगत २५ वर्षदेखि भारतमा कार उत्पादन गर्दै आएको भए पनि फोर्डले बजार प्रतिस्पर्धाका लागि भने सङ्घर्ष गर्नुपरेको थियो । रिपोर्टहरूका अनुसार भारतको यात्रुवाहक सवारीसाधन बजारमा फोर्डको दुईप्रतिशत भन्दा कम अंश छ । तर ठूला कार उत्पादकहरूको बजार अंशको सूचीमा फोर्ड नवौँ स्थानमा छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार