पुरानै गतिमा फर्कदै हवाईसेवा, एकै दिन २१४ आन्तरिक उडान

कोरोना संक्रमण कम भएसँगै हवाइ व्यवसाय पुरानै शैलीमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ६० वटासम्म मात्र दैनिक रुपमा आन्तरिक उडान गर्ने गरेपनि शुक्रबार भने एकै दिन २१४ वटा आन्तरिक उडान हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चापअनुसार दैनिक उडान थप गर्दै लगेको र शुक्रबार २१४ वटासम्म उडान तालिका सार्वजनिक गरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । १०७ वटा अराइवल र १०७ डिपार्चर रहेका छन् । नौवटा वायुसेवा कम्पनीले दैनिक रुपमा हवाइ सेवा सञ्चालन गर्दै आएको छ ।

शुक्रबार बुद्ध एयरले ६४, यती एयरले २१, श्री एयरले १७ र सौर्य एयरले पाँच वटा गरी १०७ उडान गर्ने विमानस्थलले जनाएको छ । शुक्रबार पाँच हजार ८०४ जना यात्रु काठमाडौं बाहिरिने छन् । त्यस्तै ६ हजार २७५ यात्रु काठमाडौं आउने गरीे हवाइ उडानबाट १२ हजार ७९ जना यात्रु आवतजावत गर्नेछन् ।

कोरोना संक्रमणको दर कम भएसँगै हवाइ सेवा पुनः पुरानै शैलीमा फर्कन शुरु गरेपनि स्वास्थ्य मापदण्डका विधिलाई पूर्णरुपमा पालना गराएर मात्र सेवा सञ्चालन गर्दै आएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यता शुक्रबार १४ वटा अराइवल र १७ वटा डिपार्चर गरी ३१ वटा अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार