एमालेको विरोधका बीच सभामुखले सदन अगाडि बढाए

नाराबाजीका बीच अर्थमन्त्रीले पेस गरे आर्थिक अध्यादेश

सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् । शुक्रबारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

फेरि बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले अवरोध र नाराबाजी गरिरहेका थिए । त्यहीबीच सभामुख सापकोटाले नेमकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत समय दिएका थिए ।

नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीलाई स्वागत गर्न र अमेरिकालाई खुसी पार्न विरोध प्रदर्शन गर्नेमाथि व्यापक दमन गरेको बताए । उनले नेमकिपाका नेता कार्यकर्तामाथि दमन भएको र कृष्णप्रसाद डमरुको टाउको गम्भीर चोट लागेको उल्लेख गरे ।

लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार