प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेस गरिएको छ ।
शुक्रबार बैठक शुरू हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर, एमाले सांसदहरूको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेस गरेका हुन् । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् ।
त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
त्यसैगरी बैठकले संविधानसभा सदस्य जनवादी गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’ र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।