रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ ।
थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो । तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनले बताएको छ ।
नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् । उनको रिट निवेदन नौ पटक पेशीमा चढेको छ, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।