नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । आफूले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको यादवले बताए ।
पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । उनको राजीनामा स्वीकृत भइसकेको छैन । संयोजक यादवले बिहीबार नै राजीनामा दिएका थिए । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २१ जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।
सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन भएको छैन । क्रियाशील सदस्यतामा देखिएको विवादले गर्दा भदौ १८ बाट २२ हुँदै २५ गतेका लागि अधिवेशन सरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडा अधिवेशन स्थगित गर्न माग गरिरहेका छन् ।