एमसीसी उपाध्यक्षसहितको टोली नेपालमा,दलका नेतासँगको भेटघाट जारी
विहिबार एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालसँग वार्ता
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल आएपछि एमसीसी परियोजनाका विषयमा धारणा बुझ्न सुमार सहितको टोली विभिन्न नेताहरुसँग भेटवार्ता शुरु गरेको छ । उपाध्यक्ष सुमारले विहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन ।
सबैभन्दा पहिला ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेकी सुमारले एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहित जिज्ञासा राखेकी र त्यसको जवाफमा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिएका छन ।
भट्टराईले ओलीको भनाइ उल्लेख गर्दै थपे, ‘अहिले हामी त विपक्षमा छौं । सरकारले यस विषयमा के धारणा बनाएको छ रु सरकार कसरी अगाडि बढ्न चाहेको छ ? हामीसित उसले कुनै प्रस्ताव ल्याएको छैन । छलफल पनि गरेको छैन । अब सरकारले सरकारमा रहेकाहरूको प्रस्ताव के हो भन्ने कुरा क्लियर नभइकन हामीले यो हो भनेर धारणा बनाउने कुरा त्यति परिपक्व कुरा हुँदैन ।’
सरकारले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षले आफ्नो सार्वजनिक गर्ने जवाफ एमसीसीको उपाध्यक्षको टोलीलाई दिइएको भट्टराईले जानकारी दिए । उपाध्यक्ष सुमारलाई त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे। उनिहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।
सुरक्षाकर्मीले फोटो खिच्न पनि दिएका थिएनन् । सुमार नेतृत्वको एमसीसी टोलीले भोलि उनले प्रधानमन्त्री शेर बहादुर देउवासहित अर्थमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुमारले सरकारले सोधेका ११ वटा प्रश्नको जवाफ पठाएकी थिइन ।