माधव नेपालले भने राष्ट्रहित विपरितको सहयोग चाँहिदैन

एमसीसी उपाध्यक्ष सुमारसँग नेपालको सिधा जवाफ राष्ट्रहित बिपरितको सहयोग चाहिदैन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छन् । बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन् । उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताएका थिए ।

भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराए । उनले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका बीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताएका थिए ।

एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गरेको नेता तुलाधरले जानकारी दिए । तत्कालिन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गरेको नेता तुलाधारले जानकारी दएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार