कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ ।
नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताए । उनका अनुसार बाँके, बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा घरबासमा पाहुना घुम्न आउने गरेका छन् ।
मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । कोरोना महामारीका कारण सुनसान हुन पुगेको गाभर भ्याली सामुदायिक घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।
बाहिरी जिल्लाका साथ साथै तीज पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उनले बताए । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, उनले भने, “तीज पर्व मान्न गृहजिल्ला बाँके आउनुभएका समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।” काठमाडौँमा इञ्जीनियरिङ अध्यापन गर्दै आएका नेपालगञ्ज–१० का नरेश श्रेष्ठले दशैँ बिदमा घर आएको बेला घरबासको स्वाद चाख्न गाभर पुगेको बताए । काठमाडौँमा बस्दा गाभर घरबासबारे जानकारी पाएकाले अहिले दशैँ बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे ।
यहाँ लगानीसँगै घरबास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताए । उनका अनुसार पुराना घरबासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरबास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरबासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याएका छन् ।
घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधासम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उनले बताए । “घरबास धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, चौधरीले भने, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।” विसं २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरबास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ ।
गाभर भ्याली घरबासमा सुरूका दिनमा २०/३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले २० लाख र कुनैले ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ । “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । यस्ता सवाल उठान गर्ने गाभर भ्याली घरबास एउटा घरबास मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो”, उनले भने, “गाउँमा घरबास स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।”
बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् ।