एमसीसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता (भिडियो)
आफू सरकारमा रहँदा सभामुखलगायतले सहयोग नगरेको ओलीले बताए
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनु नपर्ने सुमारको भनाई थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बतए । ओलीले भेटघाटका लागि धन्यवाद दिँदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिपक्षमा रहेको बतएको भट्टराईले जानकारी दिए । उनले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको भनाई राखिएको बताए ।
बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।