महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि लागू हुने तीन दिनका लागि तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा रोकेको छ ।
कार्यालयले तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो । पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’
परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार बन्नुपर्ने महालेखाले सचेत गराएको छ । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयकमार्फत केही कार्याक्रम परिवर्तन भएकाले सम्बन्धित निकायहरुलाई बजेट निकासा गर्न निर्देशन दिएको महालेखाले जनाएको छ । परिवर्तन भएका कार्याक्रममा बजेट निकासा गर्न नमिल्ने भएकाले कार्यालयले अनिवार्य खर्चबाहेक अन्य खर्चमा रोक लगाएको हो ।