राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने छन् ।

समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालीम र आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसकेका छन् । उनका सम्मानमा आज सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोह आयोजना हुनेछ ।

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा ब¬ङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम प्राप्त गरेका छन् । युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तरराष्ट्रिय कमाण्ड गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका शर्मासँग सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमता छ । सेनाको तीन जोड एक अवधारणाको पुनर्संरचनालाई व्यवस्थित कार्यान्वयन गर्नु उहाँको प्रमुख कार्यभार रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार