आजैदेखि नयाँ सरकार गठन गर्न घनिभूत रुपले छलफल अगाडि बढाउने प्रचण्डको उद्घोष

शम्भु माली, टिभी अन्नपूर्ण, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेको छन् । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आज ४ बजेबाट घनिभूत रुपमा छलफल अगाडि बढाउने बताएका हुन् । ‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूत रुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने ।

सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् । उनले भने ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’ नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरेका छन् ।

‘मलाई साथीहरुले आज कपिलवस्तु नजानुहोस् । नयाँ सरकार गठनका लागि तपाईंले तुरुन्तै पहल लिनुपर्छ भन्नु भएको थियो । तर मैले भनेँ म आज कपिलवस्तु जानै पर्छ । म त्यहाँको जनता र साथीहरुलाई भनेर छिट्टै फर्किन्छु’ प्रचण्डले भने । उनले काठमाडौं पुगेर को कोसँग छलफल गरिँदैछ भन्नेबारे भने उल्लेख गरेका छैनन् । लामो मौनता पछि केन्द्रीय कार्यसमिति बैठकबाटै काँग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार