अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको टोलीको नेपाल भ्रमणलाई लक्षित गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै विमानस्थलमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उपाध्यक्ष फतिमा र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आएका हुन् ।
विमानस्थल भित्रिनेको सुरक्षा चेकजाँच निकै कडा बनाइएको छ भने बाहिरिनेमाथि पनि कडा निगरानी गरिएको छ । समाचार संकलनका लागि पुगेका संचारकर्मीलाई पनि भीआईपी पक्षमा प्रवेश दिइएको छैन ।
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।