सङ्खुवासभा हत्या प्रकरण : मृतकको दाहसंस्कार इटहरीमा गरिने

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या अवस्थामा भेटिएका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीमा गरिने भएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो ।

६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा अन्त्येष्टि गरिने भएको हो । अन्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् । उनी बुधबार बिहानको राति आएका हुन् ।

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो । प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार