नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सत्ता गठबन्धन र सरकारले लोकतन्त्रको हुर्मत लिन र समाप्त पार्न खोजेको आरोप लगाएका हुन् । कथित गठबन्धन रहेका दलले लोकतन्त्र मास्न लागेको भन्दै उनले गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने स्पष्ट पारे । त्यस्तै अध्यक्ष ओलीले सरकार लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट नभई परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नहुने बताएका छन् ।
उनले रातारात छापामार शैलीमा संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै लोकतन्त्रको उपहास भएको उल्लेख गरे । राजनीतिक दलले अर्को दल फुटाउन अध्यादेश ल्याएर गरेको षडयन्त्र कल्पनाबाहिर नै घटना भएको उनको भनाई छ । ओलीले ओलीले एमसीसी अहिले छलफलका रूपमा आएको र संसद्मा आएपछि धारणा बनाउने बताएका छन् । एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनको भनाई छ । त्यस्तै ओलीले सभामुखको भूमिका एमाले विरुद्धको षडयन्त्रको मतियारको रूपमा रहेको आरोप लगाए ।
त्यस्तै अध्यक्ष ओलीले एमालेले कारबाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दाबी गरेका छन् । ओलीले नेपाल सहित १४ जना सांसद बुधवारको बैठकमा उपस्थित भए संसद् बैठक चल्नै नसक्ने उल्लेख गरे । बैठकले नेकपा एमालेले राजनीतिक दल सम्बन्धीको अध्यादेशबारे विरोध गर्ने निर्णय गरेको छ भने सभामुखले माओवादी कार्यकर्ताको भूमिका खेलेको निष्कर्ष निकालेको छ ।