प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक चल्न नदिने बताएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको अधिवेशन बुधबार (२३ भदौ) अपराह्न ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको छ ।
एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ,’ ओलीले भने ।
संसदीय दलका नेता ओलीले अग्निप्रसाद सापकोटालाई सभामुख मानेर जान नसकिने बताए । पार्टीले २५ साउनमै कारबाही गरेका सांसदलाई पदमुक्त नगरेर सभामुखले एमाले विरोधी र गैरसंसदीय काम गरेको उनले बताए ।