नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नामको प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
त्यस्तै उनले मदन भण्डारीलाई प्रयोग गरेर राष्ट्रपति र प्रधानमन्त्री बनेको तर्क गरेका छन् । उनले मदन भण्डारी हत्याकाण्डबारे राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीले केही चासो नदेखाएकोसमेत तर्क गरेका छन् ।
‘मदन भण्डारीलाई कसले त्यस्तो गर्यो ? त्यसको खोजी कसरी गर्ने ? अपराधीलाई कसरी सजाय दिनेभन्ने चिन्ता हुदैँन’, उनले भने ‘आफूलाई उत्तराधिकारी भन्नेहरु नै राष्ट्रपति र प्रधानमन्त्री चर्चा हुदैँन, खोजी हुँदैन, खाली चर्चा हुन्छ त मदन भण्डारी लोगो र नाम प्रयोग गर्ने’ ।
एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको उनको आरोप थियो । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनले बताए । प्रचण्डले क्रान्ति गर्छौ भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुने धारणा राखे ।
त्यस्तै उनले माओवादीहरूलाई घेरा हालेर सिद्ध्याउने षडयन्त्र भएकाले सचेत रहनुपर्ने बताएका छन् । यस्तै प्रचण्डले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।उनले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । उनले गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताएका छन् ।
प्रचण्डले आफूहरू गठबन्धनलाई बलियो बनाउन चाहेपनि अर्को वर्ग पुरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप लगाए । उनले पार्टीभित्र सजिलै पार्टीका नेता तथा कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको जिकिर गरेका छन् ।