प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा राजनीतिमा आएका छन् । देउवाको छोरा जयवीरसिंहले देउवाको गृहजिल्ला डडेलधुराबाट काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन्। डडेलधुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर -१ बाट यसपालि जयवीरसिंहले क्रियाशील सदस्यता लिएका हुन् ।
उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ। कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ। जयवीर अब नेपाली राजनीतिमा सक्रिय हुन सक्ने अनुमान गरिएको छ । २७ वर्षिय उनी बेलायतमा अध्ययन सकेर अहिले नेपालमै छन् ।
युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन् । पोलिटिकल साइन्स पढेका उनलाई राजनीतिमा रुचि छ । तर उनी राजनीतिमा भने खुलेर आएका छैनन् । ९ लाख क्रियाशील सदस्य रहेको काँग्रेसमा करिब तीन लाख युवाहरू समेटिएका छन् ।
देउवालाई पछिल्लो समय पुस्ता हस्तान्तरणको दबाब बढिरहँदा जयवीर राजनीतिमा आएका हुन् । देउवा पत्नी डा. आरजू राणा पनि राजनीतिमा सक्रिय छिन् । उनी पूर्व सांसद पनि हुन् । भदौ २५ गते अधिवेशन हुँदैछ ।