संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सखुंवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट गएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

सोमबार राति घटनास्थल पुगेको प्रहरी टोलीले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’डग पिकु र लैलालाई प्रयोग गरेको छ । तर निरन्तरको वर्षाका कारण तालिमप्राप्त कुकुरबाट गरिने अनुसन्धान प्रभावकारी हुनसक्ने अवस्था नरहेको बताइएको छ ।

घटनाको अनुसन्धानमा संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडा पनि खटिएका छन् । धरानबाट प्रहरीको विशेष टोली पुग्नुअघि संखुवासभा प्रहरीले शव नचलाइकन घटनास्थलको सुरक्षा मात्रै दिएको थियो ।

अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले अनुसन्धानलाई थप मद्दत मिल्ने गरी रिजनल इन्भेस्टिकेसन टिम (रिट) अर्थात क्षेत्रीय अनुसन्धान समूहलाई पनि परिचालन गरिसकेको छ । अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो ।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सिआइबीका डिएसपी रुगम कुँवर नेतृत्वको ३ जनाको अनुसन्धान टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । उनीहरू मंगलबार साँझ ६ बजेसम्ममा घटनास्थल पुग्ने र अनुसन्धान सुरु गर्ने बिसीले बताए ।

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो 

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार