८६ हजार कर्मचारीबाट सरकारले यो वर्ष पनि भेटेन सर्वोत्कृष्ट

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै सरकारले मंगलबार (आज) निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन । सरकारले देशभरका ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । आज  १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । तर यो वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नदिइने एक मन्त्रीले जानकारी दिए ।

सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यसयताका पाँच  वर्ष यो पुरस्कार दिइएको छैन ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वोत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन ।

क–कसले पाउँदैछन् यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार ? (नामावलीसहित)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार