सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत दुवै पत्र पठाएको हो ।
साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाबारे छानविन गर्न बनाएको गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्ले गरिएको थियो । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
यस्तै भारतले खलंगामाथिको आकाशमा केही दिनदेखि बिनाअनुमति पटकपटक हेलिकप्टर उडाइरहेको थियो। भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको थियो ।
संखुवासभामा एकै घरका ६ जनाको हत्या
संखुवासभामा एकैघरका ६ जनाको हत्या भएको छ । गएराती जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय तेज बहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिएका छन ।
सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाको टोली पुगेको छ । घटनास्थलमा सुरक्षा दिइरहेका छन् ।