नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई डिजी बनाउन २ करोडको ब्रिफकेश

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको पदावधि सकिनै लाग्दा महानिर्देशक बन्ने दौडमा अस्वाभाविक चलखेल सुरु भएको छ । २०७६ असारमा महानिर्देशक बनेका पोखरेल असोज पहिलो सातादेखि आफ्नो कार्यकाल पुरा गरेर अवकाश लिर्दैछन । पोखरेलपछि प्राधिकरणमा वरिष्ठताका आधारमा १२औ तहका ५ जना उपमहानिर्देशक छन् । राजकुमार क्षेत्री, नरेन्द्र बहादुर थापा, देवानन्द उपाध्याय,भोला प्रसाद गुरागाईँ, र प्रतापबाबु तिवारी मध्ये महानिर्देशक पोखरेलसँगै थापा र उपाध्यायले अवकाश लिदैछन । बाँकी रहेका तीन जना उपमहानिर्देशक मध्ये क्षेत्री सेवा अवधि र १२औं तहमा भएको बढुवाका आधारमा सबैभन्दा सिनियर हुन । तर, प्राधिकरणभित्र वरिष्ठ अधिकारीलाई किनारा लगाउने र कनिष्ठलाई जिम्मा लगाउने अस्वाभाविक चलखेल सुरु भएको हो ।

नियमतः नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रूपमा यस क्षेत्रको जानकार र अनुभवी वरिष्ठ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने थियो । तर, यसविपरित प्राधिकरणका विज्ञ वरिष्ठ अधिकारीहरूलाई किनारा लगाउने र कनिष्ठलाई जिम्मा लगाउने प्रपञ्चसहित अहिले बालुवाटार वरिपरि घुम्नेहरूको अस्वाभाविक चलखेल देखिन्छ । प्राधिकरण भित्रैका केही व्यक्तिले आफूलाई महानिर्देशक बनाए पैसाको खोलो बगाइदिने भन्दै प्रधानमन्त्री पत्नी आरजु राणा देउवासमक्ष प्रस्ताव पुर्‍याइसकेको चर्चा अहिले बालुवाटारभित्रै चल्न थालेका छ ।

त्यसो त पोखरेलका केही महिना बाँकी रहेपछि यो कसरत अघिल्लै सरकारका पालादेखि शुरु भएको हो । तर केपी ओली नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार रिझाउन नयाँ फण्डा शुरु भएपछि मात्रै यो कसरत फेरि सतहमा आएको हो । तत्कालीन तालुकदार मन्त्रीले ठुलो ब्रिफकेश ल्याउनेलाई पोखरेलपछिको महानिर्देशक बनाइदिन सुपारी वुझिसकेको चर्चा प्राधिकरणभित्र खुबै चलेको थियो । एमाले नेता योगेश भट्टराईको पालामा समेत उत्पात लाभ लिएका उनै व्यक्तिलाई पछिल्ला पर्यटनमन्त्री भानुभक्त ढकालले समेत बोकेर हिडेका थिए । तर सरकार ढलेसँगै अहिले उनै व्यक्ति अर्थात प्राधिकरणको सिभिल इन्जिनियरिङ विभागका प्रमुख प्रदीप अधिकारी अर्को सरकारलाई पनि ब्रिफकेश देखाएरै रिझाउने कसरतमा छन । उतिबेला एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समेत अधिकारी महानिर्देशक बने आफ्नो र पार्टीको इन्ट्रेस्टमा काम गर्ने विश्वस्त थिए । तर, काम फत्ते नगरि केपी ओली नेतृत्वको सरकार ढलेपछि अधिकारीको महानिर्देशक बन्ने सपना टुङ्गिएको धेरैको अनुमान थियो । उनै अधिकारी फेरिएको सरकारमा पनि पहिलो रोजाई बन्न सक्ने त्रास अहिले नागरिक उडडयान प्राधिकरणका उच्च तहका कर्मचारीको मनमा छ ।

११औँ तहमा एरोडम सेफ्टी स्टाण्डर्ड डिपार्टमेन्टमा नाम निकालेर जाँगिर थालेका अधिकारीले तत्कालीन एमाले सरकारको आर्शिवादका कारण आफूले नाम निकालेको विभागभन्दा भिन्न मालदार विभागको जिम्मेवारी लिएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्ने गरेको छ । त्यसो त सिभिल इन्जिनियरिङ विभागको प्रमुख मात्रै होइन अधिकारी राष्ट्रिय गौरवका आयोजनाको प्रमुखका रूपमा समेत छन् । दुई मालदार विभागमार्फत ठेक्का पट्टा र ठुला संरचना निमार्णमा मोटो कमिसन कुम्ल्याउने गरेकाले देशभरका दर्जन बढी आयोजनामा कमसल संरचना बनाएर राज्यलाई करोडौँको नोक्सानी भएको छ । नियमित विपरीत ठेक्का प्रक्रिया सकिएपछि बलेवा विमानस्थलको धावनमार्गको साइज घटाउनेदेखि जनकपुर विमानस्थलमा एक वर्ष नहुँदै निमार्ण संरचना भत्कन थाल्नुको कारण अधिकारीकै कमिसन मोह भएको उनलाई चिन्नेहरुको आरोप छ ।

प्राधिकरणका महत्त्वपूर्ण दुई विभागको जिम्मेवारी लिएर छोटो समयमै अरबौँको सम्पत्ति जोडेका उनै अधिकारीले अबको महानिर्देशक बन्ने दौडमा दुई करोडको ब्रिफकेश बालुवाटार वरिपरि घुमाईरहेको सन्देश पूर्व मन्त्री जीवन बहादुर शाहीमार्फत प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म पुर्‍याइसकेका छन् । बालुवाटार यो सन्देशबाट प्रभावित भए आउँदो बिहीबार बन्ने पर्यटनमन्त्रीमार्फत छिट्टै उनै विवादास्पद व्यक्ति नागरिक उडडयान प्राधिकरणको महानिर्देशक बन्ने र नेपालको उडडयान क्षेत्रको छवि थप धुमिल बन्ने विज्ञहरूको बुझाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार