सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत दुवै पत्र पठाएको हो ।
साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाबारे छानविन गर्न बनाएको गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्ले गरिएको थियो । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।
यस्तै भारतले खलंगामाथिको आकाशमा केही दिनदेखि बिनाअनुमति पटकपटक हेलिकप्टर उडाइरहेको थियो। भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको थियो ।