डोल्पामा ४१ जनाले त्यागे एमाले

डोल्पामा एमाले छोडेर ४१ जनाले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । जिल्लामा नेकपा एमाले परित्याग गरि ४१ जनाले एकीकृत समाजवादीमा  सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् ।

कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् । एमाले परित्याग गर्नेमा सबैभन्दा धेरै ठूलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन् ।

ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ८ वटा वडाध्यक्ष, ४ जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य, महिला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरि जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राईले जानकारी दिए ।

जनप्रतिनिधि र कार्यकर्ताहरू हस्ताक्षरका लागि नाराजुलुस गर्दै जिल्ला निर्वाचनमा कार्यालयमा पुगेका थिए । नेकपा एमालेको नेतृत्वले धोका दिएकोले सामाजवादी रोज्नु परेको ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका ३ जना, मुड्केचुला गाउँपालिकाका १ जना र त्रिपूरासुन्दरी नगरपालिकाका १ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कार्यकर्ताको उत्साह दिनप्रतिदिन बढिरहेकोले निर्वाचन आयोगको समयसीमा २२ गतेसम्म जनप्रतिनिधिहरू थप हुने मन्त्री बुढाको दाबी छ ।

अहिले पनि जिल्लामा ठूलो पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्दै कार्यालय स्थापनासँगै संगठन विस्तार तीव्र रूपमा अघि बढ्ने मन्त्री बुढाले बताए ।

मौसममा बिग्रेर जहाज नउडेपछि नेपालगन्जबाट हेलिकप्टर चार्टर गरेर मन्त्री बुढा डोल्पा पुगेका हुन् । नेकपा एमाले डोल्पाका संस्थापक नेता एवं केन्द्रीय सदस्य हंश बहादुर शाही र डोल्पाली राजनीतिमा चर्चित धनबहादुर बुढासमेत एकीकृत पार्टीमा रहेकोले समाजवादीनै ठूलो पार्टी रहेको नेता कार्यकर्ताको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार