नेपालमा एमसीसीको लागु गर्ने नहुने भन्दै प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ परेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का ६ जनालाई प्रहरीले अमेरिकी दूतावास अगाडीबाट पक्राउ गरेको हो । उनीहरुले एमसीसीको विरोधमा दूतावासअघि विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शनका क्रममा ६ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । शुक्रवार मात्रै गृह मन्त्रालयले एमसीसी लगायतका विदेशी लगानीका क्षेत्र प्रभावित गर्नेगरि विरोध प्रदर्शन गर्ने वा बोल्नेलाई कारबाही गर्ने चेतावनी सहित विज्ञप्ति निकालेको थियो । फेरि आइतबार अर्को विज्ञप्ति निकालेर छिमेकी मूलक र त्यहाँका शासकहरूका विरुद्धमा नबोल्ने आग्रह गरेको थियो ।
गृह मन्त्रालयले एक दिनको अन्तरमा निकालेका दुई अभिव्यक्तिले नेपालमा जनआवाज थुन्न खोजेको भन्दै यसको चौतर्फी आलोचना भएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसको विरोध गदै जेल जाने तर विदेशी हस्तक्षेपविरुद्ध बोल्न नछाड्ने भन्दै यसको विरोध गरेका थिए ।
गृह मन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शन स्थलमा अलर्ट बसेको छ ।
भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ । सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन् ।
मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ। तीन दिनमै दुई विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनका नाममा उच्छृङ्खल गतिविधि नगर्न सचेत गराएको हो ।
शुक्रवार जारी विज्ञप्तिमा मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्ष्य गरी प्रत्यक्ष र परोक्ष रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधिको सूक्ष्म निगरानी गरिने उल्लेख थियो ।
गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति एमसीसी सम्झौताका विषयमा भइरहेका आलोचनामा लक्षित थियो । आइतबार भने नेपाली आकाशमा अनुमतिबिना भारतीय हेलिकोप्टर उडाइएकोमा र तुइन घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाही नभएको भन्दै भएका प्रदर्शन निरुत्साहित गर्न विज्ञप्ति जारी गरिएको हो ।