राष्ट्रिय जनगणना कार्यतालिका स्वीकृत, मूल गणना कात्तिक २५ देखि मंसिर ९ सम्म

सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको छ, विभागका निर्देशक ढुण्डीराज लामिछाने भने, ‘अब अन्तिम तयारीका काम थाल्छौं ।’

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागका निर्देशक लामिछानेले जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार