गोरखाको मनकामना मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । मन्दिरमा बढी भीडभाड हुने भएकोले ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाइने निमित्त प्रजिअ कमलराज भण्डारीले जानकारी दिए ।
मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए । भक्तजनहरुका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । यसैगरी मन्दिर परिसरमा साबुनपानीले हात धुने ठाउँको व्यवस्था गर्नुपर्ने, मन्दिरका पुजारी, कर्मचारी र सुरक्षाकर्मीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र आवश्यकताको आधारमा फेसशिल्ड पनि प्रयोग गर्नुपर्ने निमित्त प्रजिअ भण्डारीले बताए ।
यस्तै गोरखाकै गोरखकाली मन्दिर पनि भदौ २३ गतेदेखि नै पूजाआजाका लागि खुला गरिने भएको छ ।